श्रेणी : BANNER
वीरगंज । देशको विभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआइपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका राैतहटका एक जना युवक पक्राउ परेका छन् ।
त्रिवि शिक्षण अस्पताल काठमाडौँ स्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन् ।
बहालवाला तथा पूर्व मन्त्रीहरू तथा अन्य भिआइपीसँग आफ्नो फोटो देखाएर भिआइपी कोटामा बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका – ६ घर भएर गौर – ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० वर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन ।
सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका – ११ का जोगबहादुर बोहराको छोरी विमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन ।
सोनीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कालिका टाईम्स
प्रतिक्रिया