वीरगन्ज :

मन्त्रीसँगको टेलिफोन विवादमा पक्राउ परेकी किरण साह उपचारपछि पुनः हिरासतमा

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.4kViews
1083 Shares

बीरगन्ज,१८ भदाै । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादपछि पक्राउ परेकी किरण साहलाई सामान्य स्वास्थ्य परीक्षणपछि पुनः प्रहरी हिरासतमा फिर्ता गरिएको छ।

पेटमा समस्या देखिएपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पुनः हिरासतमा राखेको हो।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार किरण साहमाथि विद्युतीय अपराध, ज्यान मार्ने धम्की, र झुटा सूचना फैलाएको अभियोगमा अनुसन्धान भइरहेको छ। उनलाई शनिबार पक्राउ गरिएको थियो भने मंगलबार जिल्ला अदालत पर्साबाट दोस्रो पटक तीन दिनको म्याद थप गरिएको हो।

विवादको केन्द्रमा रहेको टेलिफोन संवाद गत शुक्रबार राति सामाजिक सञ्जालमा भाइरल भएको थियो। अडियोमा किरण साहले वीरगञ्जमा फैलिएको हैजा, दूषित पानीको समस्या र सरकारी निष्क्रियताप्रति मन्त्रीलाई कडा प्रश्न गर्दै आक्रोश पोखेको सुनिन्छ।

उनले भनिन्, “मेरो परिवारका सदस्य हैजाबाट बिरामी छन्, तपाईं मन्त्री भएर किन सम्पर्कमा आउनु भएन?” सोही संवादमा उनले भनेको “म तपाईंलाई छोड्दिनँ” भन्ने वाक्यलाई प्रहरीले ‘ज्यान मार्ने धम्की’को रूपमा व्याख्या गर्दै अनुसन्धान अघि बढाएको हो।

साहको पक्राउ मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहको जाहेरीका आधारमा गरिएको हो।

यस घटनाले सामाजिक सञ्जाल र नागरिक तहमा व्यापक चासो र बहस सिर्जना गरेको छ। धेरैले यस घटनालाई “अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप” भनेर आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *