
श्रेणी : राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल बाहिर बस्ने भए मात्र व्यवस्थाविरुद्ध धारणा राख्न पाइने बताए । उनले भने,’मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन । मेरै क्याबिनेटको मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ ।’
उनले सुरुदेखि नै संघीयता, समावेशी र समानुपातिक लोकतन्त्र र गणतन्त्रको बारेमा बहस चल्दै आएको भएपनि कार्यान्वयनमा भने कमजोरी भएको स्वीकार गरे ।
उनले भने, ‘सुरुदेखि नै संघीयता र लोकतन्त्रको बारेमा पनि विमत्ती र बहस चल्दै आएको हो । धेरै ठूलो मात्रामा संघीयताको विषय विमत्तिको रुपमा उठेको त छैन। तर यसबारे कार्यान्वयनमा भएको कमी, ढिलाई वा अरुचीको प्रवृत्ति देखिन थालेको छ।’ सरकारको तर्फबाट संघीयता कार्यान्वयनमा अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया