वीरगन्ज :

मनोनयन दर्ता गरिनु लोकतान्त्रिक व्यवस्थाप्रतिको गहिरो विश्वासको संकेत : प्रधानमन्त्री कार्की

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.8kViews
1652 Shares

काठमाडौँ,०७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको समयसीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गरेकी छिन्। निर्वाचन प्रक्रियाको एक महत्वपूर्ण चरण सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बुधबार विशेष सन्देश जारी गरेकी हुन्।

प्रतिनिधिसभाका १६५ सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरिनु लोकतान्त्रिक व्यवस्थाप्रतिको गहिरो विश्वासको संकेत भएको प्रधानमन्त्रीको भनाइ छ। सन्देशमा उनले भनिन्, “नेपाली जनता लोकतन्त्रलाई अझ सुदृढ बनाउन सचेत, सक्रिय र सक्षम छन् भन्ने कुरा आजको उत्साहजनक सहभागिताले पुष्टि गरेको छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै सुरक्षा व्यवस्थामा कुनै पनि प्रकारको सम्झौता नहुने बताएकी छिन्। उनका अनुसार सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक क्षमताका साथ परिचालित छन्।

निर्वाचन प्रक्रियाले देशमा रहेको अन्योल र अनिश्चितताको वातावरण अन्त्य गर्दै राजनीतिक क्षेत्र, निजी क्षेत्र तथा समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरेको प्रधानमन्त्रीको धारणा छ। उनले निर्वाचन कार्यतालिका अनुसार निरन्तर खटिँदै आएको निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनमा राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमबाट जिम्मेवार तथा रचनात्मक भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेकी छिन्।

सन्देशको अन्त्यमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक स्थायित्व र समृद्धिका लागि सबै नेपाली नागरिकलाई संयमित र सक्रिय रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन हार्दिक अपिल गरेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *