
श्रेणी : अर्थ
काठमाडौं,२६ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा बढ्दो कर आतंक र मनपरी कर प्रणालीका कारण अर्थतन्त्र ध्वस्त हुने खतरा औंल्याएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामा साहले देशमा कुल गार्हस्थ उत्पादनको एक तिहाईभन्दा बढी राजस्व उठाउने लक्ष्यले जनतालाई करको भार थोपरेको बताए।
साहले केन्द्र, प्रदेश, र स्थानीय सरकारहरूबाट झण्डै ४० शीर्षकमा कर लगाइएको र विश्वका अन्य देशहरूसँग तुलना गर्दा नेपालको कर दर अत्यधिक भएको आरोप लगाए। उनले उपभोग्य र विलासी वस्तुमा समान भ्याट, पाँच लाख आयमै कर लागू हुने व्यवस्था, र तीन तहका सरकारद्वारा दोहोरो कर प्रणालीप्रति आपत्ति जनाए।
उनले कर प्रणाली सुधार नभए अर्थतन्त्र थप संकटमा जाने चेतावनी दिँदै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने सुझाव दिए। साहले रौतहटको मौलापुर नगरपालिकालाई शून्य करको सफल नमूना प्रस्तुत गर्दै अन्य पालिकाहरूलाई पनि यसबाट सिक्न आग्रह गरे।
कार्यक्रममा अर्थविद् गोपिलाल न्यौपाने र पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले पनि नेपालमा कर प्रणालीको सुधारको आवश्यकता औंल्याए। उनीहरूले दोहोरो कर प्रणाली र उच्च कर दरले नेपाली जनताको ढाड भाँचिएको भन्दै सरकारलाई सचेत गराए।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले माफिया र विचौलियाको कब्जामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन मिडियाले निरन्तर बहस गर्नुपर्ने बताए।
यस विषयमा आम जनता पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया