वीरगन्ज :

मध्य तराईमा हनुमान आराधना लोकप्रिय बन्दै

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
2.1kViews
1661 Shares

बीरगन्ज,२५ वैशाख । पछिल्ला केही वर्षयता तराई–मधेशका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा हनुमान आराधना धार्मिक गतिविधिको केन्द्रबिन्दु बन्न थालेको छ। छिमेकी भारतको सीमावर्ती क्षेत्रहरूमा समेत शुभकार्यको पूर्वसन्ध्यामा हनुमान आराधना अनिवार्यजस्तै प्रचलनमा आउन थालेको स्थानीयहरू बताउँछन्।

माघे संक्रान्तिबाट सुरु हुने उत्तरायण महिनामा हिन्दू धर्मावलम्बीहरूले विवाह, यज्ञ, मूर्ति स्थापनाजस्ता विशेष कार्यको सुरुवात गर्ने परम्परा छ। माघदेखि असारसम्मको अवधिलाई धार्मिक दृष्टिले शुभ मानिन्छ। यिनै महिनामा हनुमान आराधनाको माग अत्यधिक हुने गरेको छ।

कलैया उपमहानगरपालिका–४ का हरेकृष्ण तिवारी भन्छन्, “सामान्य पूजाआजा गर्नुपर्ने भए पनि अहिले हनुमान आराधना अनिवार्यजस्तै भएको छ।” आराधनाका लागि साता–पन्ध्र दिन अघिदेखि मण्डलीसँग अग्रिम बुकिङ गर्नुपर्ने अवस्था आएको छ।

नेपाल प्रहरीका पूर्व डिएसपी अरविन्द द्विवेदीले पनि आफ्ना कान्छा छोराको विवाहअघि भारत आदापुरबाट आएका व्यास सुमन उपाध्यायको मण्डलीमार्फत आराधना गराएको अनुभव सुनाए।

व्यास अमिरका ठाकुर बढईका अनुसार पहिला मङ्गलबार वा शनिबार मात्रै आराधना गरिन्थ्यो, तर अहिले सातै दिन आराधना हुने गरेको छ। “पहिले बाहुनले मात्र पाठ गर्थे, अहिले भने संगीतसहित मण्डलीमार्फत सुन्दरकाण्डको पाठ गरिन्छ,” उनले भने।

यस क्षेत्रका जनमानसमा गहिरो धार्मिक विश्वास जडिएको देखिन्छ। विवाहअघि गोरु पूजा, रुद्री, लखराव पूजादेखि सत्यनारायण पूजा, रुद्राभिषेक र अष्टयाम जस्ता धार्मिक विधिहरू पनि गरिने परम्परा छ।

स्थानीयहरूका अनुसार सन्तान प्राप्तिको लागि तिर्थस्थलमा व्रत बसेका आमाबाबुहरू विवाह हुनुअघि भगवान शिव र विष्णु प्रसन्न पार्न २४ घण्टे अखण्ड अष्टयाम आयोजना गर्छन्।

यसरी, हनुमान आराधना अहिले मध्य तराईको धार्मिक जीवनशैलीको अविभाज्य अङ्ग बनिरहेको छ, जहाँ संगीत, भक्ति र सामाजिक एकताको संगम देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *