
श्रेणी : मधेस
जनकपुर,०८ साउन । मधेस प्रदेश सरकारको नेतृत्वलाई लिएर सत्ता गठबन्धनका दलहरूबीच विवाद चुलिँदै गएको छ। कांग्रेसले नेतृत्व परिवर्तनको माग गर्दै दाबी प्रस्तुत गरेसँगै सत्तारूढ गठबन्धनभित्र असहमति सतहमा आएको छ।
जनमत पार्टीका सतिस कुमार सिंहले नेतृत्व गरेको मधेस सरकारलाई १४ महिना पुग्न लागेको छ। तर कांग्रेसले सत्ता साझेदारीको क्रममा भएको ‘आलोपालो’ सहमतिको आधारमा अबको नेतृत्व आफूले लिनुपर्ने दाबी गरेको हो।
मधेस कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले प्रदेश नेतृत्वको जिम्मेवारी अब कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै शीर्ष नेताहरूसँग छलफल तीव्र बनाएका छन्। उनका अनुसार, केन्द्रमा भएको सहमतिअनुसार पहिलो चरणमा जनमत पार्टीले नेतृत्व गरेको हो, अब कांग्रेसको पालो हो।
यद्यपि, जनमत पार्टी र वर्तमान मुख्यमन्त्री सिंहले भने यस्तो कुनै आलोपालो सम्झौता नभएको दाबी गर्दै नेतृत्व परिवर्तनको चर्चा अनावश्यक भएको बताएका छन्। मुख्यमन्त्री सिंहले भने, “कसैसँग नेतृत्व फेर्ने सहमति भएको छैन, तर केन्द्रबाट निर्देशन आयो भने हामी त्यसमा बाधक बन्दैनौं।”
एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिकमन्त्री सरोज यादवले पनि सरकार गठनको समयमा आलोपालो नेतृत्वको सहमति भएको पुष्टि गरे। उनले भने, “यो विषय सहमतिमै टुंगो लाग्नुपर्छ, तर यसकै कारण सरकार अस्थिर भएको छैन।”
सत्तारूढ चार दल कांग्रेस, एमाले, जनमत र लोसपाबीच सरकारको नेतृत्वमा कसले भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्पष्टता नआएपछि सरकारको भविष्यबारे अनिश्चितता बढेको छ। तर सबै दलहरूले हालको सत्ता गठबन्धन यथावत् राख्ने अडान व्यक्त गर्दै नेतृत्वबारे संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
यसरी नेतृत्वको पालोको विषयमा मतभेद बढ्दै जाँदा मधेस प्रदेशमा राजनीतिक तरंग चर्किन थालेको छ। तर अहिलेसम्म केन्द्रीय तहबाट कुनै औपचारिक निर्णय नभएकाले सरकारको नेतृत्व परिवर्तन तत्काल नहुने संकेत देखिएको छ।


प्रतिक्रिया