
श्रेणी : मधेस
जनकपुर,१० जेेठ । गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद रमेश लेखकले मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले लामो समयसम्म कांग्रेसको नेतृत्वमा सरकार नबनेको कार्यकर्ताहरूको गुनासोलाई जायज ठहर गरे।
गृहमन्त्री लेखकले भने, “यो गुनासो ठीक हो। हामी यस विषयलाई केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ र अब सरकार बनाउन हामी लागिपर्नेछौँ।”
उनका अनुसार अहिले मधेस प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालन भइरहेको छ। यस्तो गठबन्धनमा स्वभाविक रूपमा केही जटिलता देखा पर्ने उनले स्वीकार गरे। “दुई प्रतिस्पर्धी पार्टीबीच संयुक्त सरकार सञ्चालन गर्न सजिलो हुँदैन,” उनले भने, “यही कारण हामीले संघदेखि प्रदेश र जिल्लासम्म संयुक्त संयन्त्र बनाएका छौँ।”
गृहमन्त्री लेखकले कांग्रेस र एमालेबीच मधेस प्रदेश सरकारको नेतृत्व पालैपालो गर्ने सहमति भएको पनि खुलासा गरे। “सरकारको नेतृत्व समय समयमा परिवर्तन हुने सहमति भएको छ,” उनले स्पष्ट पारे।
उनले पछिल्ला १० महिनामा देशको अर्थतन्त्रमा ठुलो परिवर्तन आएको दाबी पनि गरे। यद्यपि त्यसबारे उनले विस्तृत विवरण भने उल्लेख गरेनन्।


प्रतिक्रिया