वीरगन्ज :

मधेस प्रदेशसभा अवरोध अन्त्यको प्रयासमा पुनः सर्वदलीय बैठक

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.6kViews
1081 Shares

जनकपुर,२२ चैत । मधेस प्रदेशसभामा जारी अवरोध हटाउनका लागि आज (शुक्रबार) पुनः सर्वदलीय बैठक बसेको छ। प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको पहलमा तेस्रोपटक सत्तापक्ष र विपक्षी दलका नेताहरू तथा सांसदहरूको सहभागितामा बैठक चलिरहेको हो।

यसअघि दुई दिनसम्म बसेका सर्वदलीय बैठक निष्कर्षविहीन बनेपछि सदन अनिश्चितकालका लागि स्थगित भएको थियो। तर आगामी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेशसभामा तय भएको सम्बोधन कार्यक्रमलाई मध्यनजर गर्दै अवरोध हटाउने प्रयास तीव्र पारिएको छ।

बुधबार बसेको अघिल्लो बैठकमा पनि सत्तापक्ष र विपक्षी दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा कुनै सहमति जुट्न सकेको थिएन।

विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले चैत १० गतेको बैठकमा योजना खरिद–बिक्रीमा अनियमितता, मुख्यमन्त्री सतिशकुमार सिंहको कूटनीतिक मर्यादा विपरीतको भारत भ्रमण, र सशर्त अनुदानमा देखिएको अन्योललगायत विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेका थिए।

विपक्षीहरूको अडान छ — मन्त्रीहरूले पटकपटक स्पष्टीकरण दिइसकेकाले अब थप भनाइ आवश्यक छैन, बरु सीधा छानबिन समिति गठन गर्नुपर्छ। तर सत्तापक्षको धारणा भने फरक छ। उनीहरू आरोप लागेका मन्त्रीहरूले सदनमै जवाफ दिने र त्यो जवाफप्रति असन्तुष्टि भएमा मात्र छानबिन समिति गठन गर्न सकिने पक्षमा छन्।

सभामुख मण्डलले अवरोध हटाएर सदन पुनः सुचारु गर्न पहल जारी राखेका छन्। सबै दलका सांसदहरूलाई पटक–पटक छलफलमा बोलाएर सहमतिको बाटो खोज्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *