
श्रेणी : मधेस
जनकपुर, ११ जेठ । गर्मीयामको चर्को तापमा पानीका थोपा गन्ने दिनहरू सुरु भइसकेका छन्। तर, मधेस प्रदेशका लागि यो समस्या हरेक वर्षको नियति बनेको छ। नेपाल खानेपानी संस्थानको तथ्यांकअनुसार, प्रदेशको झन्डै ६१ लाख जनसंख्यामध्ये मात्र ३.४१ प्रतिशत जनताले मात्र संस्थानमार्फत वितरण हुने खानेपानी सुविधा पाएका छन्।
संस्थानले मधेसका आठ जिल्लामा ९ शाखामार्फत सेवा दिँदै आए पनि जम्मा ३८ हजार घरधुरीमा मात्र धाराको पहुँच पुगेको छ। प्रदेशमा कुल घरधुरी संख्या ११ लाख १३ हजारभन्दा बढी रहे पनि अधिकांश जनता अझै इनार र चापाकलमै निर्भर छन्। हाल सुक्खा याममा चापाकलहरू सुक्ने, केही ठाउँमा चापाकल जडान हुनै नसक्ने भूगोलले गर्दा खानेपानीको विकल्प झन् सीमित बन्दै गएको छ।
वीरगञ्ज, जनकपुरधाम, लहान, गौर, मलंगवा, राजविराज, गौशाला र कलैया नगरपालिकाहरूमा पनि खानेपानी संस्थानको सेवा सबै वडामा नपुगेको तथ्यांकले देखाएको छ। वीरगञ्जका ३२ वडामध्ये १८ वडामा मात्र धाराको सेवा पुगेको छ। अन्य नगरहरूमा पनि यस्तै अवस्था छ।
नेपाल खानेपानी संस्थानका इन्जिनियर राकेश गोइतका अनुसार, धारा नजडान हुनुको प्रमुख कारण नै धाराप्रतिको कम माग र चापाकलप्रतिको निर्भरता हो। तर, चापाकलहरू असारमा सुक्ने समस्या चर्कंदै गएको छ। “यही कारणले सुक्खा याममा धाराको माग उच्च हुन्छ,” उनले बताएका छन्।
संस्थानको लहान शाखा प्रमुख इन्जिनियर शिरीष राज भण्डारी भन्छन्, “सेवा दिन जनशक्ति आवश्यक पर्छ। तर, हाल २०० स्वीकृत दरबन्दीमध्ये मात्र ११३ कर्मचारी कार्यरत छन्, जसमा ६१ स्थायी र ५२ करार कर्मचारी छन्।” उनले निजीकरणको प्रक्रियाले संस्थानको अस्तित्व संकटमा पार्ने चेतावनी पनि दिएका छन्।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकालका अनुसार, संस्थानको प्रमुख स्रोत भूमिगत जल हो, तर सेवा विस्तारका लागि पाइपलाइन, रिजर्भ ट्यांकी र पूर्वाधारमा ठूलो लगानी आवश्यक छ। “तीनै तहका सरकारबीच समन्वय र सहकार्यबिना सेवा पु-याउन सकिँदैन,” उनले स्पष्ट पारे।


प्रतिक्रिया