
श्रेणी : BANNER
जनकपुर,२९ चैत । मधेस प्रदेशका १ हजार ८ सयभन्दा बढी स्वास्थ्यकर्मीले आफूहरू बढुवाबाट वञ्चित भएको भन्दै आन्दोलन सुरु गरेका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ को एक प्रावधानप्रति असन्तुष्टि जनाउँदै चैत २५ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।
चौथो र पाँचौं तहका सिअहेव (CMA) तथा सिअनमी (ANM) स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको धर्नामा करिब आधा संख्या महिला स्वास्थ्यकर्मीहरूको रहेको छ।
धर्ना संयोजक मोहन साहका अनुसार ऐनमा उल्लेख गरिएको बाध्यात्मक वाक्यांशका कारण उनीहरू सेवा अवधिको आधारमा हुने नियमित बढुवाबाट वञ्चित भएका छन्। उनले भने, “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ” भन्ने प्रावधानले समस्या सिर्जना गरेको हो।
यस प्रावधानलाई आधार मान्दै मधेस प्रदेश लोकसेवा आयोगले बढुवा प्रक्रिया रोकिदिएको र त्यसपछि चौथो तहबाट सेवा सुरु गरेका धेरै स्वास्थ्यकर्मी अन्योलमा परेका साहको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले समस्या तत्काल समाधान नगरे गम्भीर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आन्दोलनका कारण सेवामा पनि असर पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया