
श्रेणी : अपराध
जनकपुर,१५ वैशाख । मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य उपकरण खरिदमा व्यापक भ्रष्टाचार भएको पत्ता लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास, वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह र जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्रसहित कर्मचारी र आपूर्तिकर्तालाई समेत समेटेर २१ करोड ८९ लाखभन्दा बढी बिगो माग गर्दै चारवटा फरक मुद्दा दायर गरेको हो।
जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरू— ल्याब टेक्निसियन, टेक्नोलोजिस्टदेखि लेखा अधिकृतसम्म—समेत भ्रष्टाचारको आरोपमा मुछिएका छन्। हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित पनि ठगी र अनियमितताको यो मुद्दामा मुख्य आरोपीका रूपमा छन्।
यसबाहेक, मधेस प्रदेशका ६४ पालिकामा जनस्वास्थ्य प्रयोगशालाका लागि खरिद गरिएका उपकरणहरूमा पनि अनियमितता भएको भन्दै आयोगले पाँच करोडभन्दा बढीको अर्को बिगोसमेत पेश गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, स्वास्थ्य क्षेत्रमा भएको यस्तो चरम भ्रष्टाचारले आम नागरिकको स्वास्थ्य सेवा प्रतिको भरोसा गुम्न थालेको छ।

प्रतिक्रिया