वीरगन्ज :

मधेस प्रदेशमा प्रहरी सेवाबाट राजीनामा दिने दर बढ्दो

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.2kViews
1095 Shares

जनकपुर,२५ जेठ । एक समय मधेसका युवाहरूको सपना बनेको नेपाल प्रहरीको जागिर अहिले त्याग गर्न बाध्यता बन्न थालेको छ। मधेस प्रदेशमा हाल प्रहरी सेवाबाट राजीनामा दिने सुरक्षाकर्मीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू,जवानदेखि हवलदार, असई र सईसम्म,बिभिन्न कारण देखाउँदै राजीनामा दिने प्रवृत्ति बढ्दो रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

राजीनामाको पछाडि मुख्य रूपमा न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको लोभजस्ता कारण देखिएका छन्।

हाल प्रहरी जवानको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्रै छ। त्यसमै खाद्यान्न भत्ता समावेश हुँदा परिवार पाल्न र भविष्य सुरक्षित गर्न अपुग हुने प्रहरीहरूको गुनासो छ। यस्तो अवस्थामा उनीहरू दैनिक १२ देखि १८ घण्टासम्म ड्युटीमा खटिन बाध्य छन्। निजामती कर्मचारीहरूजस्तो नियमित समय र पारिवारिक समयको सुविधा प्रहरीहरूलाई छैन।

तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्रै दिइने हुँदा ड्युटीमा फाटेका जुत्ता र पुराना पोसाकमा काम गर्नुपर्ने अवस्था रहेको प्रहरीहरू बताउँछन्। ड्युटीका क्रममा घाइते भएका प्रहरीहरूका लागि उपचार खर्चसमेत राज्यले नहेर्ने गुनासो उल्लेखनीय छ।

यसबाहेक, अन्य प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा बस्नुपर्ने बाध्यताले पारिवारिक जीवनमा असन्तुलन ल्याउने गरेको छ। विशेष गरी पहाड–मधेसबीचको दूरीले समस्या झनै जटिल हुने गरेको प्रहरीहरू बताउँछन्।

प्रहरी सेवाबाट अवकाश लिने न्यूनतम सेवा अवधि १६ वर्ष तोकिए पनि ३० वर्ष सेवा गरेका र १६ वर्षमै राजीनामा दिने प्रहरीबीच सुविधा बराबरजस्तै हुने व्यवस्थाप्रति पनि असन्तुष्टि बढेको छ। यसले गर्दा धेरैले १६ वर्ष पूरा भएलगत्तै जागिर त्याग्ने गरेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ८३ जना प्रहरीले राजीनामा दिएका छन्। तीमध्ये १ जना बरिष्ठ सई, १४ जना असई, २१ जना बरिष्ठ हवलदार, ३१ जना हवलदार, ४ जना सहायक हवलदार, ९ जना जवान र ३ जना कार्यालय सहयोगी छन्।

प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशैभर बढ्दो रहेको स्वीकार गर्दै, जीवनयापन खर्चसँग मेल खाने तलब, प्रहरीका परिवारका लागि स्वास्थ्य र शिक्षाको ग्यारेन्टी, र ड्युटीअनुसार भत्ता उपलब्ध गराए प्रहरी पेशाप्रति पुनः आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *