जनकपुर,०८ फागुन । मधेस प्रदेशका जनकपुर, वीरगन्ज, बर्दिबास र लालगढमा दर्ताबिनै सञ्चालनमा रहेका १७ वटा निजी अस्पताललाई प्रदेश सरकारले बन्द गराएको छ । त्यस्ता अस्पताललाई बन्द गरी सरकारी प्रक्रियामा आउन प्रदेश सरकारले निर्देशन पनि दिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका ४० निजी अस्पतालको छड्के निरीक्षण गरेका थिए । त्यसमध्ये १५ वटा अवैध रहेको खुलेको छ ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पूरा नगरेका जनकपुरका १५ वटा निजी अस्पतालमा ताला लगाइएको छ । ठाकुरले जनकपुरका १६ वटा निजी अस्पतालले नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएको बताए । ’छड्के गरिएका जनकपुरका ९ वटा निजी अस्पतालको भने सबै प्रक्रिया दुरुस्त देखिए,’ उनले भने, ’दर्ता नरहेका अस्पताललाई बन्द गरिएको छ भने नवीकरणबिना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ ।
यस्तै, मुख्यमन्त्री सिंहले बुधबार वीरगन्जकापनि ७ वटा निजी अस्पतालको छड्के निरीक्षण गरेका थिए । जसमध्ये दर्ताबिना नै सञ्चालनमा रहेको नेपाल इन्डो हस्पिटल एन्ड आई सेन्टरलाई बन्द गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । उनका अनुसार वीरगन्जमा छड्के गरिएका ७ अस्पतालमध्ये १ बन्द गरिएको र दुईवटा निजी अस्पतालले नवीकरण नगराएको भेटिएको छ ।
मधेस सरकारले महोत्तरीको बर्दिवास र धनुषाको लालगढका रहेका निजी अस्पतालको पनि छड्के अनुगमन गरेको छ । लालगढमा रहेका दुई निजी अस्पतालमध्ये लालगढ हेल्थ केयरको दर्ता नरहेकाले बन्द गरिएको र बर्दिवासको सिटी केयर अस्पतालले नवीकरण नगराएको भेटिएको ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया