
श्रेणी : मधेस
बीरगन्ज,२७ जेठ । बीरगन्ज महानगरपालिका–४, बिर्तामा रहेको त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालय मधेस प्रदेशको उत्कृष्ट विद्यालयमा चयन भएको छ।
प्राध्यापक संघ नेपालले देशभरका विद्यालयहरूलाई मूल्यांकन गर्दै मधेस प्रदेशका उत्कृष्ट विद्यालयहरू छान्ने क्रममा त्रिजुद्ध माविलाई माध्यमिक तहतर्फ उत्कृष्ट विद्यालयको रूपमा चयन गरेको हो। यससँगै सप्तरीको धनगाछीस्थित श्री आधारभूत विद्यालय पनि आधारभूत तहमा उत्कृष्ट विद्यालयको रूपमा छनोट भएको छ।
विद्यालय छनोटका लागि कक्षा ८ को नतिजा, एसइइ (SEE) को नतिजा, समुदायको विद्यालयप्रति आकर्षण, उत्कृष्ट शैक्षिक अभ्यास, विद्यार्थी संख्या, विद्यालयको वातावरण, भौतिक पूर्वाधार लगायतका सूचकहरूलाई आधार बनाइएको संघले जनाएको छ।
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएको त्रिजुद्ध माविको यो उपलब्धिले वीरगन्जको शैक्षिक छविलाई अझ मजबुत बनाएको छ।


प्रतिक्रिया