श्रेणी : मधेस
जनकपुर,२३ पुस । विभाजित हुँदै कमजोर बनेका मधेस केन्द्रित दलहरू फेरि मोर्चाबन्दीमा जुटेका छन्। समान मुद्दा र विचारलाई प्राथमिकता दिँदै यी दलहरू एकता र सहकार्यका लागि पहल गरिरहेका छन्।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), आम जनता पार्टी, र राष्ट्रिय उन्मुक्ति पार्टीजस्ता दलहरूसँग सहकार्य थालनी गरेका छन्। यसै क्रममा लोसपाले पाँच सदस्यीय कार्यदल गठन गरेर संवाद र एकताको प्रक्रिया अघि बढाएको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राजनीतिक अधिकारहरूको सुनिश्चितताका लागि कार्यगत एकता आवश्यक रहेको उल्लेख छ। कार्यदलको नेतृत्व वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनलले गरिरहेका छन्।
यसैगरी, सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समान विचार राख्ने दलहरूसँग वार्ता गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ। जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य र एकताको सम्भावना खोजी गरिरहेको छ।
मधेस प्रदेशमा कांग्रेस र एमालेबिनाको सरकार गठनको आन्तरिक कसरत भइरहेको चर्चा चलिरहेको छ। तर, लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनलले हालसम्म यसबारे ठोस कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।
जनमत पार्टीले प्रदेश सरकारलाई कांग्रेस र एमालेले असहयोग गरेको आरोप लगाउँदै आठ बुँदे निष्कर्ष निकालेको थियो। पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले संविधान संशोधन र साना दलहरूको अस्तित्व जोगाउन मोर्चाबन्दी केन्द्रित भएको बताए।
“सरकार परिवर्तनको सम्भावना तत्काल कम छ, किनकि कांग्रेस वा एमालेमध्ये कुनै एक दलको समर्थनबिना नयाँ सरकार बनाउने गणित पूरा हुँदैन,” उनले भने।
साना दलहरूले संविधान संशोधन र सशक्त राजनीतिक उपस्थितिका लागि मोर्चाबन्दीलाई प्राथमिकता दिइरहेका छन्। हालको परिस्थिति हेर्दा मधेसमा ठूला दलहरूको प्रभावलाई चुनौती दिन साना दलहरूको सहकार्यले नयाँ राजनीतिक समीकरण खडा गर्ने सम्भावना देखिन्छ।
प्रतिक्रिया