श्रेणी : BANNER
काठमाडौँ,२९ पुस । मधेस केन्द्रित दलहरूको एकता र मोर्चा गठनका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक मंगलबार धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्ने भएको छ। संविधान संशोधनमार्फत थ्रेसहोल्ड बढाउने र समानुपातिक प्रणाली हटाउने सरकारको तयारीको विरोधमा यी दलहरू एकीकृत हुने प्रयासमा छन्।
बैठकमा जसपा नेपालको तर्फबाट कार्यदल संयोजक राजकिशोर यादव, उपाध्यक्ष रेणु यादव, महासचिव इस्तियाक राई, लोसपा नेपालको तर्फबाट संयोजक जितेन्द्र सोनल, महासचिव डा. सुरेन्द्र झा, जनमत पार्टीका संयोजक अब्दुल खान, प्रवक्ता डा. शरद यादव, जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल सहभागी हुनेछन्।
सत्तारूढ कांग्रेस र एमालेले थ्रेसहोल्ड बढाउने र समानुपातिक प्रणाली हटाउने प्रयास गरिरहेको आरोप लगाउँदै मधेस केन्द्रित दलहरूले मोर्चा गठन गरी सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेका छन्। यस उद्देश्यले यी दलहरूले आआफ्ना कार्यदल गठन गरिसकेका छन्।
यस बैठकले साझा रणनीति बनाउने र संविधान संशोधनको संभावित असरबारे छलफल गर्ने अनुमान गरिएको छ। मधेस केन्द्रित दलहरूबीचको एकता प्रयासले सरकारसँग संवाद र दबाब दुवैलाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया