श्रेणी : BANNER
काठमाडौँ, २५ माघ । मधेस केन्द्रित आठ दलीय मोर्चाविरुद्ध अर्को नयाँ मोर्चा बनेको छ। रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी नेपाल पार्टी र हरिनन्दनकुमार रञ्जनको नेतृत्वमा रहेको बहुजन एकता पार्टी नेपालबीच संयुक्त मोर्चा गठन गरिएको हो ।
संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष अन्सारीका अनुसार दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले मोर्चा बनाइएको हो। विगतमा मधेस केन्द्रित दलहरूले मोर्चा बनाएर सत्ताको खेलमा लागेर मुद्दा विसर्जन गरेको भन्दै उनले अहिले पुनः त्यस्तै मोर्चा बनेको देखेर आफूहरूले नयाँ मोर्चा बनाउन लागेको बताए ।
उनले भने, ‘आठ दलीय मोर्चा बाहिर रहेका दलहरूबीच मोर्चाबन्दी हुने तयारी भइरहेको छ। फागुनको पहिलो हप्तामा यसको घोषणा हुनेछ।’ हाल दुई दलले मोर्चाको अगुवाइ थालेको र विस्तारै अन्य दलहरूलाई पनि जोड्दै लैजाने योजना रहेको उनले बताए। आदिवासी जनजातिसँग सम्बन्धित दलहरूलाई पनि मोर्चामा समावेश गरिने उनको भनाइ छ ।
अध्यक्ष अन्सारीले मधेसी, आदिवासी जनजाति, र पिछडिएको समुदायको अधिकार तथा पहिचानका लागि संघर्ष गर्न मोर्चा बनाइएको दाबी गरे। दुई दलका अध्यक्षबीच भएको भेटवार्तामा वर्तमान सरकारद्वारा प्रस्तावित संविधान संशोधनबारे छलफल भएको थियो ।
वर्तमान गठबन्धन सरकारको नीति समानुपातिक प्रतिनिधित्व खारेज गर्ने, दुई दलीय व्यवस्था लाद्ने र थ्रेसहोल्ड बढाएर सीमान्तकृत समुदायहरूको राजनीतिक सहभागितालाई सीमित गर्ने रहेको निष्कर्ष निकालेर दुवै दल मोर्चाबन्दी गर्न सहमत भएका हुन् ।
संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने, बहुजन, मुस्लिम, आदिवासी जनजाति, निषाद समुदाय र पिछडा वर्गलाई अझै पछाडि धकेल्ने कुनै पनि प्रयासलाई सहेर नबस्ने अन्सारीले बताए ।
बहुजन एकता पार्टी नेपालका अध्यक्ष रञ्जनले संविधान संशोधनको नाममा बहुजन समुदायको हक कुण्ठित गर्न खोजिएकाले आफूहरू संगठित हुन लागेको बताए ।
मोर्चाले देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने, राजनीतिक र कानुनी प्रतिरोध अघि बढाउने तथा अन्य समावेशी शक्तिहरूसँग सहकार्य गर्ने रणनीति बनाउने रञ्जनले बताए ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया