वीरगन्ज :

मधेसी समुदायमाथि भेदभाव र उत्पीडन यथावत: जसपा अध्यक्ष यादव

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.8kViews
1208 Shares

जनकपुर,२४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र स्थापना भए पनि मधेसी समुदायसहित आदिवासी, जनजाति, मुस्लिम, थारु, महिला र दलितमाथिको भेदभाव, असमानता र शोषणमा कुनै सुधार नआएको बताएका छन्।

बुधवार सप्तरीको कंचनरूपमा आयोजित जसपा नेपालको आधारभूत संगठन निर्माण अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रममा यादवले राजतन्त्रको अन्त्य र बहुदलीय व्यवस्थापछि पनि मुलुकको अवस्था झनै जर्जर बनेको टिप्पणी गरे।

अध्यक्ष यादवले मधेस आन्दोलनको क्रममा नागरिकता समस्याको आंशिक समाधान भए पनि मधेसी समुदायमाथिको विभेद कायम रहेको बताए। २०४६ सालदेखि हालसम्मका ३७ सरकारहरूले सुशासन, गरिबी उन्मूलन र बेरोजगारी अन्त्य गर्न असफल भएको उनको आरोप छ।

यादवले पछिल्ला ३५ वर्षमा कांग्रेस र कम्युनिस्ट नेतृत्वले मुलुकलाई भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको दलदलमा फसाएको आरोप लगाए। शिक्षा, कृषि, उद्योग र उत्पादनजस्ता क्षेत्रहरूलाई धराशायी बनाइएको उनले उल्लेख गरे।

यादवले सरकारका निकायमा कमिसन र बिचौलियाहरूको दबदबा रहेको र कर्मचारीतन्त्रको मिलेमतोले मुलुक चलाइएको दाबी गरे।

सप्तरी भ्रमणका क्रममा यादवले भारतीय स्वतन्त्रता आन्दोलन र समाजवादी आन्दोलनमा सप्तरीको ऐतिहासिक योगदानको स्मरण गरे। कुसहाघाट क्याम्प र हनुमाननगर जेल काण्डको चर्चा गर्दै उनले जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता भारतीय नेताहरूलाई मुक्त गराउने घटनालाई उल्लेख गरे।

यादवको अभिव्यक्तिले मधेसीलगायत उत्पीडित समुदायको अधिकार र समानताका लागि अझै धेरै कार्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *