श्रेणी : BANNER
काठमाडौं । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् ।
पार्टीले खडेरीसहितका प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जनमतले वीरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ । यस वर्ष तराई–मधेसमा अन्यन्त न्यून वर्ष भएर खडेरी परेको छ ।
भूमिगत जलाधार स्रोतसमेत सुकेका कारण मधेसका जिल्लामा सिँचाइको अभावका साथै खानेपानीकोसमेत हाहाकार मच्चिएको उपाध्यक्ष खानले बताए । खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा वीरगञ्जलगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको उनले जानकारी दिए ।
खडेरीका कारण तराई–मधेसको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले पानी नपर्दा तथा सिँचाइको व्यवस्था नहुँदा किसानले धानखेती लगाउन नसकेको बताए । मधेका अधिकांश खेत बाँझै रहेको उनको भनाइ छ ।
प्रतिक्रिया