
श्रेणी : मधेस
जनकपुर,२४ जेठ । मधेस प्रदेशको राजनीतिक मैदान फेरि पनि हलचलको चरणमा प्रवेश गरेको छ। सत्तारुढ गठबन्धनको आन्तरिक सहमतिअनुसार अब प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले सम्हाल्ने सम्भावना बलियो देखिएको छ।
शुक्रबार जनकपुर पुगेका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट रूपमा घोषणा गरे, “अब कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार बन्ने निश्चित भइसकेको छ। आलोपालो सरकारको सहमतिअनुसार अब पालो हाम्रो हो।”
यसअघि कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले पनि प्रदेश सरकार पालोपालो नेतृत्व गर्ने सहमति भएको स्मरण गराउँदै, अब नेतृत्व फेर्ने समय आएको बताए। “सरकारमा हाम्रो पालो आउन लागेको हो, छिट्टै नेतृत्व फेरिन्छ,” उनले भनेका थिए।
कांग्रेसका अन्य शीर्ष नेताहरूले पनि यस विषयमा धारणा सार्वजनिक गरिसकेका छन्। महासचिव विश्वप्रकाश शर्मा र वरिष्ठ नेता विमलेन्द्र निधिले जनमत नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै कांग्रेसले अब नेतृत्व लिनुपर्ने बताएका थिए।
स्रोतका अनुसार, सत्तारुढ गठबन्धनले सरकारको नेतृत्व हरेक एक वर्षमा फेरिने सहमति गरेको थियो। जनमत पार्टीको नेतृत्वमा बनेको सरकारले जेठ २५ मा एक वर्ष पूरा गर्दैछ, त्यसैले कांग्रेसले अब सत्ता आफ्नो हुनुपर्ने तर्क अघि सारेको हो।
यसबीच, जनमत पार्टीभित्रै पनि नेतृत्व परिवर्तनको तयारी देखिएको छ। पार्टी अध्यक्ष डा. सिके राउतले मुख्यमन्त्री सतिश कुमार सिंहलाई जुनसुकै बेला सत्ता हस्तान्तरण गर्न तयार रहन निर्देशन दिएको पार्टी स्रोतले जनाएका छन्।


प्रतिक्रिया