जनकपुर,१४ पुस । मधेस प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंग्याउने उद्देश्यले सत्तारुढ दलहरूको बैठक आज बिहानदेखि जनकपुरमा जारी रहेको छ। सरकार गठन भएको २५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् पूर्णता नपाउँदा बढ्दो आलोचनाबीच सत्तारुढ दलहरू सहमति खोज्न फेरि एक पटक बैठकमा जुटेका हुन्।
मुख्यमन्त्री कृष्णा यादव नेतृत्वको प्रदेश सरकार मंसिर १९ गते ६ दलीय समर्थनमा गठन भएको थियो। तर झण्डै एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन। प्रदेश सरकारअन्तर्गत रहेका ११ मन्त्रालयमध्ये हालसम्म ५ जना मात्र मन्त्री नियुक्त छन् भने ६ मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन्।
मन्त्रालयको भागबन्डामा दलहरूबीच सहमति जुट्न नसक्दा सरकार विस्तार प्रक्रिया लामो समयदेखि अन्योलमा परेको छ। सरकारमा सहभागी दलका नेताहरूका अनुसार सबै दलले आफ्नो भागमा बढी मन्त्रालय माग गरेपछि विवाद पेचिलो बनेको हो। यही कारण यसअघि बसेका बैठकहरू पनि निष्कर्षविहीन हुँदै आएका छन्।
जसपा नेपालका संसदीय दलका नेता सरोज यादवले आज बिहानदेखि सत्तारुढ दलहरूको बैठक जारी रहेको जानकारी दिँदै सम्भवतः आजै मन्त्रालयको भागबन्डामा सहमति हुन सक्ने संकेत दिएका छन्।
यता, सरकार गठन भएको २५ दिन बित्दा पनि नेतृत्व आन्तरिक भागबन्डामै अल्झिएको भन्दै आम नागरिकस्तरमा असन्तुष्टि बढ्दै गएको छ। बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता ज्वलन्त मुद्दामा प्रदेश सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लागिरहेको छ। राजनीतिक वृत्तमा यादव नेतृत्वको सरकार ‘कछुवा गतिमा’ अघि बढिरहेको टिप्पणी समेत व्यापक छ।
विश्लेषकहरूका अनुसार आजको बैठकबाट पनि ठोस निष्कर्ष ननिस्किए मधेस प्रदेश सरकारको विश्वसनीयतामाथि थप प्रश्न उठ्ने निश्चित जस्तै छ।

प्रतिक्रिया