वीरगन्ज :

मधेसमा केन्द्रविरुद्ध असन्तोष चुलिँदै

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.7kViews
1777 Shares

जनकपुर,१९ चैत । मधेस प्रदेश सभा का सांसदहरूले संघीय सरकारमाथि विकास र शान्ति सुरक्षाभन्दा राजनीतिक प्रतिशोधमा केन्द्रित भएको आरोप लगाएका छन्।

प्रदेश सभाको बैठकमा बोल्दै सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष अनुसन्धान नभई राजनीतिक उद्देश्य पूर्ति गर्नु रहेको दाबी गरे। सांसद हरिनारायण यादव ले संघीय सरकारले आन्दोलनको नाममा गठन गरेको समिति व्यक्तिगत प्रतिशोधको माध्यम बनेको आरोप लगाए।

उनले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई आधार बनाएर विभिन्न दलका नेताहरूमाथि झुटा मुद्दा लगाउने प्रयास भइरहेको बताए। यसले देशको शान्ति सुरक्षामा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि उनले दिए।त्यस्तै, सांसद सुरिता शाह ले संघीय सरकार मधेसविरोधी भएको आरोप लगाउँदै समावेशीताको अभावप्रति प्रश्न उठाइन्। उनले सरकारमा मधेसी, दलित र आदिवासी जनजातिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गरिन्।

सांसद रामसरोज यादव ले सरकार विदेशी प्रभावमा काम गरिरहेको आशंका व्यक्त गरे। उनका अनुसार जनमतको आधारमा सरकार बने पनि पछिल्ला कदमहरूले शंका उत्पन्न गरेका छन्।अर्की सदस्य देवी शर्मा ले पनि सरकार व्यक्तिगत दुश्मनी साँध्नेतर्फ केन्द्रित भएको आरोप लगाउँदै विपक्षी नेतामाथि कारबाहीको तयारी भइरहेको दाबी गरिन्।

बैठकमा अधिकांश सांसदहरूले भदौ २३–२४ मा भएका हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै, सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

यस घटनाक्रमले संघीय सरकार र मधेस प्रदेशबीचको राजनीतिक सम्बन्धमा थप तनाव देखिने संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *