वीरगन्ज :

मधेसकेन्द्रित दलहरू ०८४ को चुनाव एक्लै लड्ने तयारीमा

श्रेणी : मधेस

7 days
Pradeep Sah
1.8kViews
1372 Shares

जनकपुर,०१ पुस ।  प्रमुख तीन ठूला राष्ट्रिय दल कांग्रेस, एमाले, र माओवादी केन्द्रले आगामी २०८४ सालको आम निर्वाचन एक्लै लड्ने घोषणा गरेका बेला मधेसकेन्द्रित दलहरूले पनि एक्ला–एक्लै चुनाव लड्ने संकेत दिएका छन्।

जसपा नेपाल, जनमत पार्टी, र लोसपा नेपालले गठबन्धनमा निर्भर नभई एक्लै चुनाव लड्ने तयारीमा रहेको जनाएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विगतमा गठबन्धन गरेर चुनाव लड्दा अपेक्षित नतिजा नआएको भन्दै यसपटक संगठन निर्माणलाई प्राथमिकता दिँदै एक्लै चुनावमा जाने मुड बनाएको छ। जसपाले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको सकारात्मक नतिजालाई आत्मविश्वासको रूपमा लिएको छ।

जसपाका महासचिव रामकुमार शर्माका अनुसार, पार्टीले हाल ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ, जुन माघ मसान्तसम्म जारी रहनेछ। जसपाले संगठनलाई बलियो बनाउन विशेष कार्ययोजना अघि सार्दै, आगामी महाधिवेशन र सांगठनिक संरचनाको सुदृढीकरणमा केन्द्रित रहेको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले यसअघि २०७९ को चुनाव एक्लै लडेको थियो। पार्टीका उपाध्यक्ष ई. दीपक साहले २०८४ को चुनावमा पनि एक्लै लड्ने रणनीति तय गरिएको जानकारी दिए। पार्टीले यसबारे सुरुदेखि नै स्पष्ट अडान राख्दै ‘मिशन ८४’ अभियान सञ्चालन गरिरहेको छ।

महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले पनि ०८४ को चुनावमा कुनै गठबन्धन नगर्ने बताएको छ। २०७९ को चुनावमा कांग्रेससँग गठबन्धन गर्दा पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको अनुभवका आधारमा यसपटक एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

लोसपाका महासचिव मनिष मिश्रले संगठन निर्माण अभियानलाई प्राथमिकता दिँदै आगामी २०८१ साल बैशाखमा महाधिवेशन गर्ने योजना रहेको बताए। हाल सदस्यता अभियानमार्फत पाँच लाख नयाँ सदस्यता वितरण गर्ने लक्ष्य राखिएको उनले जानकारी गराए।

मधेसकेन्द्रित दलहरूले विगतका गठबन्धनबाट अपेक्षित फाइदा नपाएको अनुभवका आधारमा आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका छन्। यी दलहरूले संगठन बलियो बनाउन विशेष योजनासहित अघि बढिरहेका छन्।

०८४ को चुनाव अझै टाढा भए पनि यी दलहरूको तयारीले राजनीतिक परिदृश्यमा नयाँ समीकरण र चहलपहल थप्ने संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *