श्रेणी : BANNER
जनकपुर,१६ कातिक । मधेस प्रदेशका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू श्रम शोषण, अन्यायपूर्ण व्यवहार र असुरक्षित कार्य वातावरणको विरोधमा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले ८ बुँदे माग अघि सार्दै पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलन थालिएको बताएका छन्।
स्वास्थ्यकर्मीहरूको भनाइमा लामो समयदेखि न्यून पारिश्रमिक, असमान व्यवहार र सुरक्षाविहीन वातावरणमा काम गर्न बाध्य भइरहेकाले आन्दोलन अपरिहार्य बनेको हो।
आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरूले सरकारको ऐनअनुसार न्यूनतम तलब स्केल लागू गर्न, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करार स्वास्थ्यकर्मी हटाई लोकसेवा आयोगमार्फत विज्ञापन गरी स्थायी नियुक्ति गर्न, स्वास्थ्यकर्मीका लागि बीमा तथा सुरक्षाको व्यवस्था गर्न तथा सप्ताहमा अधिकतम ४२ घण्टा मात्र कार्य समय तोक्न माग गरेका छन्।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयहरूले पटक–पटक निर्देशन जारी गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीको मनोबल खस्किएको छ। “हामीले अन्तिम विकल्पका रूपमा आन्दोलनको बाटो समातेका हौं,” उनले भने।
स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। तर, माग सम्बोधनतर्फ कुनै ठोस पहल नभएकाले आफूहरू दबाबमूलक कार्यक्रम अघि बढाउन बाध्य भएको उनीहरूको आरोप छ।
आन्दोलनका कारण बिरामी सेवामा प्रभाव परे त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।

प्रतिक्रिया