वीरगन्ज :

मधेसका जिल्लामा चैती छठ पर्वको रौनक

श्रेणी : धर्म संस्कृति

3 months
Pradeep Sah
1.6kViews
1965 Shares

वीरगंज ,२१ चैत –वीरगंज लगायत मधेसका विभिन्न जिल्लाहरूमा अहिले वासन्ती छठ पर्वको रौनक देखिएको छ। यस पर्वको तेस्रो र मुख्य दिनमा व्रतालुहरूले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन्। पञ्चमीका दिन बुधबार मध्यराति खरना विधि सम्पन्न गरेर सख्खरको खिर खाएपछि निराहार व्रतको आरम्भ भएको हो।

आज साँझ व्रतालुहरूले पवित्र जलाशयमा सजिएका घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने छन्। यस विधिलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनेर पनि चिनिन्छ।

छठ पर्व श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिन्छ। यस पर्वका अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन्, र जलाशयमा सजिएका घाटहरू अत्यन्त आकर्षक देखिएका छन्। व्रतालुहरूले भोलि शुक्रवार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस पर्वको विधिवत् समापन हुनेछ।

यस पर्वको परम्परा मिथिलाका प्राचीन समयदेखि फैलिएको हो। मधेसको मिथिला क्षेत्रमा वर्षभरिका दुई प्रमुख छठ पर्वहरू मनाइन्छन्। कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय छठ भनिन्छ भने, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ। दुवै छठमा सूर्यदेव र षष्ठी देवीको पूजा गरिन्छ।

पछिल्लो समय छठ पर्वको लोकप्रियता नेपालभर फैलिएको छ र यसलाई लोकआस्थाको महापर्व पनि मानिन्छ। मिथिला र तराई क्षेत्रको प्रमुख पर्वका रूपमा लिइएको यो पर्व अहिले समग्र नेपाली समाजको साझा संस्कृतिको प्रतीक बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *