वीरगन्ज,१५ पुस । मधेश प्रदेश सरकारमा मन्त्रालयको भागबण्डा टुंग्याउने प्रयास अन्तिम चरणमा पुगेको छ। सत्तारुढ सात दलीय गठबन्धनको मंगलबार बिहान बसेको बैठकबाट सहमति जुटेमा प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने सम्भावना प्रबल बनेको छ।
प्रदेश सरकार गठन भएको २६ औँ दिनसम्म पनि मन्त्रालयको बाँडफाँटमा दलहरूबीच सहमति नजुट्दा ११ मन्त्रालयमध्ये हालसम्म पाँच जना मन्त्री मात्र नियुक्त भएका छन्। बाँकी ६ मन्त्रालय मुख्यमन्त्री रामअशिष यादवकै जिम्मेवारीमा छन्।
स्रोतका अनुसार, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरणपछि मधेशमा ठूलो दल बनेको जसपा नेपालले तीन मन्त्रालयमा दाबी गरेको छ। भौतिक पूर्वाधार मन्त्रालय पाउने लगभग टुंगो भए पनि बाँकी दुई मन्त्रालयमा दाबी कायम छ।
नेपाली कांग्रेसले तीन मन्त्रालयमा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले दुई मन्त्रालयमा, र जनमत पार्टीले दुई मन्त्रालयमा आफ्नो दाबी राखेको बताइन्छ।
स्रोतका अनुसार, बहुसंख्यक दाबीका कारण मन्त्रालय विस्तारमा ढिलाइ भएको थियो। तर मंगलबार वा बुधबारसम्ममा मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पूर्णता दिने योजना बनाइरहेको बताइएको छ।
जसपा नेपालका संसदीय दलका नेता सरोज यादवले सबै दलको सहमतिमा प्रदेश सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकार सत्तारुढ सात दलीय गठबन्धनको समर्थनमा मंसिर १९ गते गठन भएको थियो।

प्रतिक्रिया