
श्रेणी : मधेस
जनकपुर,२४ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन क्षेत्रलाई केन्द्रमा राख्दै महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ‘घुमौं मधेश, बुझौं मधेश’ भन्ने नाराका साथ सरकारले ‘मधेश भ्रमण वर्ष २०८३’ मनाउने घोषणा गरेको हो।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नु हो। प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र ऐतिहासिक सम्पदाले भरिपूर्ण मधेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य छ।
सरकारले भ्रमण वर्षको माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र पर्यटनसँग सम्बन्धित व्यवसाय सुदृढ बनाउने योजना अघि सारेको छ। विशेषगरी पौराणिक सहर जनकपुरधामलाई ‘विवाह पर्यटन’ को केन्द्रबिन्दु बनाउने परिकल्पना गरिएको छ। भगवान राम र सीताको विवाह स्थल भएको जनकपुरलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्य बनाउने उद्देश्यले पूर्वाधार निर्माण, सेवा विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिनेछ।
यस अभियानमा सूचना प्रविधिको प्रयोग, पर्यटकको सुरक्षा, र स्थानीय कला–संस्कृतिको संरक्षणमा पनि विशेष ध्यान दिइनेछ। प्रदेश सरकारको विश्वास छ — मधेश भ्रमण वर्ष २०८३ को सफल कार्यान्वयनले पर्यटन क्षेत्रलाई नयाँ गति दिनेछ र मधेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उभ्याउनेछ।


प्रतिक्रिया