
श्रेणी : अर्थ
जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले शुक्रबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २० करोड (०.५४ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षभन्दा करिब ४ अर्ब कम अकारको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा प्रदेशमा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । त्यसमध्ये चालु आर्थिक वर्षमा ६५ प्रतिशत बजेट मात्र खर्च हुने प्रदेश सरकारको अनुमान छ ।
बजेटमा आन्तरिक आम्दनी स्रोतबाट ४ अर्ब ३७ करोड ८१ लख २ हजार, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३८ करोड १९ लाख, समानीकरण अनुदानबाट ७ अर्ब ४१ करोड ५० लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकम १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड र ससर्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी अपुग हुने २ अर्ब रकम आन्तरिक ऋण परिचालन गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया