
श्रेणी : मधेस
जनकपुर,२५ पुस । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी नेताहरूले अब समीक्षा गर्ने समय आएको बताएका छन्। उनले मधेशका जनताले मधेशी नेताका पछाडि दौडिए पनि उनीहरूको नेतृत्वमा असमानता, शोषण, र अपमान मात्रै भोग्नुपरेको भन्दै मधेशी समुदायले आफैं मालिक नभएसम्म पूर्ण अधिकार र सम्मान प्राप्त गर्न सक्ने छैनन् भन्ने धारणा राखेका छन्।
सप्तरीको विष्णुपुर गाउँपालिका परसाहीमा बिहीबार आयोजित संयुक्त अभिमुखीकरण कार्यक्रममा यादवले मुलुकमा बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना भए तापनि मधेशी समुदायप्रतिको असमानता र विभेद भने घटेको छैन भनेका छन्। उनले २००७ सालको परिवर्तनपछि पनि मधेशी समुदायप्रतिको अपमान अझै कायम रहेको बताए।
यादवले माओवादी संघर्ष र जनआन्दोलनको परिणामस्वरूप मधेशी समुदायका लागि केही सुधारको आशा जागेका थिए, तर कांग्रेस र कम्युनिस्ट दलहरूले मधेशी, दलित, आदिवासी, महिला, मुस्लिम र थारु समुदायको पहिचान दिने कदम नचालेको आरोप लगाएका छन्। उनले भने, “समान हक र अवसर प्राप्त नभएसम्म मधेशी शोषित नै रहने छन्। शासक वर्गले मधेशलाई आन्तरिक उपनिवेश बनाएको छ।”
अध्यक्ष यादवले नेपालको भ्रष्टाचारका बारेमा पनि टिप्पणी गर्दै, यसलाई विश्वमा अत्यधिक भ्रष्टाचार हुने मुलुकको रूपमा चित्रित भएको बताए। उनले कांग्रेस र कम्युनिस्ट दलहरूलाई देशको अर्थतन्त्र संकटमा पारेको आरोप लगाउँदै, उद्योग र कलकारखाना बन्द गराउने जिम्मेवारी उनीहरूकै भएको दाबी गरे।


प्रतिक्रिया