
श्रेणी : मधेस
जनकपुर,०२ जेठ । आउँदो मनसुन र संभावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशमा ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते विपद् व्यवस्थापन तालिम दिइएको छ। सप्तरीको बरमझियामा रहेको सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा जवानदेखि सहायक निरीक्षकसम्मका प्रहरीहरूलाई प्रशिक्षण दिइएको हो।
तालिमको अन्तिम दिन डेमो (प्रदर्शन) सहित समापन कार्यक्रम आयोजना गरियो, जसमा सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकाल प्रमुख अतिथि थिए। उनले ५९औं श्रृंखलाको यो तालिम औपचारिक रूपमा समापन गर्दै, सिकिएको सीप व्यवहारमा उतार्न सहभागीहरूलाई निर्देशन दिए। साथै, मनसुनको तयारी तत्काल सुरु गर्नुपर्नेमा जोड दिए।
प्रशिक्षणमा सहभागीहरूलाई सडक तथा हवाई दुर्घटना, आगलागी नियन्त्रण, डोरीको सहायताबाट उद्दार (रोप रेस्क्यू), शव व्यवस्थापन, जलजन्य प्रकोपबाट उद्दार, र बन्दोबस्ती व्यवस्थापनजस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो।
कार्यक्रममा तालिम शिक्षालयका समादेशक वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले विपद् व्यवस्थापन, जल उद्दार, प्रतिविद्रोह र विशेष कार्यसम्बन्धी तालिमहरू नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए। उनले चितवनको कुरिनटारमा मात्र सीमित रहेको विपद् तालिम अब बरमझिया र पोखरामासमेत विस्तार भएको उल्लेख गरे।
समापन कार्यक्रममा सशस्त्र प्रहरी बलले प्रयोग गर्दै आएका आधुनिक उपकरणहरूको पनि प्रदर्शनी गरिएको थियो। डीआईजी ढकालले देशभरका वडास्तरमा विपद् व्यवस्थापन स्वयंसेवक टोली गठनको योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिंदै मधेशका सबै आठ जिल्लामा यो कार्यक्रम तिव्र रूपमा अघि बढाइने प्रतिबद्धता जनाए।


प्रतिक्रिया