श्रेणी : मधेस
जनकपुर,१३ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मधेश क्षेत्रको निर्वाचनमा मतपत्र विवाद देखिएपछि प्रचण्ड पक्षधर विद्यार्थी नेताहरूले पुनः मतदानको माग गरेका छन्।
मधेशमा १५९ मत खस्दा १५४ मत मात्र गणना भएपछि विवाद सुरु भएको हो। मतगणनाका क्रममा प्रतिनिधिहरूबीच विवाद भएपछि गणना स्थगित गरिएको छ। प्रचण्ड पक्षका उपमहासचिव पदका उम्मेदवार कुन्दन महतोले पुनः निर्वाचन नभए मतपरिणाम अस्वीकार गर्ने चेतावनी दिएका छन्।
दोस्रो पक्षले भने पुनः मतदान सम्भव नभएको अडान लिएको छ। उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थी नेता क्षितिज सापकोटाले पुनः मतदान गराउनु उचित नहुने बताएका छन्।
मधेशमा अध्यक्षका उम्मेदवार उपेदश यादवको पक्षमा ७० मत खसेका छन्, जसले अन्य प्रतिस्पर्धीहरूभन्दा अग्रता लिएका छन्। चुनावमा तीन प्यानल प्रतिस्पर्धामा छन्, जसमा नारायणकाजी श्रेष्ठ, प्रचण्ड, र जनार्दन शर्मा निकट नेताहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
निर्वाचन आयोगका प्रमुख मुक्ति प्रधानले विवाद समाधानका लागि सल्लाह भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया