
श्रेणी : कृषि
जनकपुर,३१ असार । मधेश प्रदेशमा खडेरीका कारण उत्पन्न भएको खानेपानी अभाव र कृषिमा परेको असरसँग जुझ्न प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले समस्या समाधानका लागि तत्काल र दीर्घकालीन उपायमा सहकार्य गर्न दातृ निकायहरूसँग सहयोगको अपिल गरेका छन्।
मंगलबार जनकपुरस्थित प्रदेश सरकारको सचिवालयमा आयोजित बैठकमा सरोकारवाला मन्त्रालयका मन्त्रीहरू र विभिन्न दातृ संस्थाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा मुख्यमन्त्री सिंहले मौजुदा संकट सामूहिक प्रयासबिना समाधान नहुने स्पष्ट पार्दै सबै पक्षलाई सक्रिय हुन आग्रह गरे।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा का अनुसार सिंहले बैठकमा भने, “सिर्फ निर्णय गरेर बस्ने होइन, तुरुन्तै काम सुरु गरौं। जनतालाई छिट्टै राहत महसुस होस् भन्ने हाम्रो प्राथमिकता हो।”
प्रदेशका १३६ वटै स्थानीय तहहरू खडेरी र पानी अभावको चपेटामा परेका छन्। यसले धान रोपाइँमा गम्भीर असर पारेको र आगामी दिनमा खाद्यान्न संकट निम्तिन सक्ने चेतावनी मुख्यमन्त्रीले दिएका छन्। “संकट आउने संकेत छ, अहिलेबाटै तयारीमा लागौं,” उनले भने।
सिंहले सुक्खा र पानीको समस्या समाधानका लागि संघीय सरकारसँग पनि आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव समेत सहभागी थिए।
यसअघि, गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। देशका अन्य क्षेत्रमा वर्षा र बाढीले क्षति पु¥याइरहे पनि मधेशमा भने लामो समयदेखि पर्याप्त वर्षा नभएकाले खडेरीको मार चरम रूपमा देखिएको छ।


प्रतिक्रिया