
श्रेणी : BANNER
वीरगन्ज,१५ भदौ । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेसँगै मधेश प्रदेशमा पनि यसको काम सुरु हुने भएको छ।
यातायात व्यवस्था विभागका अनुसार, मधेश प्रदेशको लहान, सिरहास्थित यातायात व्यवस्था कार्यालयबाट असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु हुनेछ।
यातायात व्यवस्था विभागले देशभरि इम्बोस्ड नम्बर प्लेट जडानको प्रक्रियालाई विस्तार गरेको छ। असोज १ गतेदेखि थप सात कार्यालयहरूमा यो सेवा सुरु गरिने भएपछि अब कुल १६ स्थानबाट सवारीधनीहरूले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन्।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका नौ वटा कार्यालयबाट यो सेवा उपलब्ध छ। यी कार्यालयहरूमा एकान्तकुना, हेटौंडा, गुर्जुधारा, टेकु, पोखरा, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र सुर्खेत पर्दछन्। यातायात व्यवस्था विभागका अनुसार, असोज १ गतेदेखि सुदूरपश्चिमका धनगढी र कञ्चनपुर, मधेश प्रदेशको लहान, बागमतीको चितवन, र कोशीका इटहरी र बिर्तामोडमा पनि इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु हुनेछ।
सरकारले सवारीसाधनको दर्ता, नामसारी, वा नवीकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ। यस निर्णयले सवारीसाधनको सबै विवरण डिजिटल प्रणालीमा आउनेछ। यसबाट सवारीसाधनको व्यवस्थापन र सुरक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ। विभागले सवारीसाधनको सहज ट्र्याकिङका लागि देशका १० मुख्य प्रवेशद्वारमा आरएफआईडी च्ँक्ष्म् गेट बनाउने योजना पनि अघि सारेको छ। काठमाडौँमा दुई स्थानमा यस्ता गेटहरू निर्माण भइसकेका छन्।


प्रतिक्रिया