वीरगन्ज :

मधेशको विकास विना देशको समृद्धि सम्भव छैन : उपेन्द्र यादव

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.7kViews
1727 Shares

काठमाडौँ,३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा बारा–२ का प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले मधेशको समुचित विकास विना नेपालको समग्र विकास सम्भव नभएको बताएका छन्। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ कार्यक्रममा बोल्दै उनले राज्यले मधेशलाई अझै पनि उपेक्षित राखेको गुनासो गरे।

“देशको ६० प्रतिशत जनसंख्या रहेको मधेशलाई जम्मा १३ प्रतिशत विकास बजेट छुट्याइएको छ,” यादवले भने, “मधेशलाई बेवास्ता गरेर देशको समृद्धि सम्भव छैन।”

सप्तरीको भगवतपुरमा २०१६ सालमा जन्मिएका यादवले बाल्यकाल मधुवनमा बिताए। स्थानीय मोहन निमाविद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले सुनसरीको धरान र विराटनगरबाट विज्ञान तथा कानुन विषयमा उच्च शिक्षा हासिल गरेका छन्। विद्यार्थी जीवनमै पुष्पलाल श्रेष्ठबाट प्रभावित हुँदै वामपन्थी राजनीतिमा होमिएका यादवले २०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

विद्यार्थी राजनीति हुँदै भूमिगत आन्दोलन र जेल जीवनसमेत व्यतित गरेका यादवले प्रजातन्त्र पुनःस्थापनापछि सक्रिय राजनीतिमा सशक्त उपस्थिति जनाए। एमालेमा लामो समय कार्यरत रहेर पार्टी जिम्मेवारी सम्हालेका उनले २०५४ सालमा मधेशी जनअधिकार फोरम स्थापना गर्दै छुट्टै पहिचान निर्माण गरेका थिए।

२०५६ मा एमालेबाट अलग भएपछि यादव मधेशको पहिचान र अधिकारका सवालमा अझ सक्रिय बने। राजा ज्ञानेन्द्रको शासनकालमा भूमिगत भइ माओवादीसँग सहकार्य गरेका यादवले मधेश आन्दोलनको अग्रपंक्तिमा रहेर नेतृत्व दिएका थिए। उनी २०६३ सालमा अन्तरिम संविधान जलाएको अभियोगमा पुनः पक्राउ परेका थिए।

२०६५ सालमा मधेशी जनअधिकार फोरमको अध्यक्ष निर्वाचित भएका यादव २०७६ सालमा संघीय समाजवादी फोरम र समाजवादी पार्टीको नेतृत्वमा पुगे। पछिल्लो समय जसपाको महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका उनी विगत तीन दशकदेखि विभिन्न स्वरूपमा पार्टी नेतृत्वमै छन्।

यादव चार पटक सांसद निर्वाचित भइसकेका छन्। २०७९ सालको आम निर्वाचनमा सप्तरी–२ बाट पराजित भए पनि बारा–२ मा उपनिर्वाचनमार्फत पुनः संसदमा प्रवेश गरेका थिए। उनी विभिन्न समयमा परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसमेत भइसकेका छन्। हाल उनी प्रतिनिधिसभाको अर्थ समितिमा सदस्यका रूपमा कार्यरत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *