वीरगन्ज :

मधेशको दमदार जित: कोशी ६ विकेटले पराजित

श्रेणी : खेलकुद

3 months
Pradeep Sah
1.7kViews
1315 Shares

काठमाडौं,२६ जेठ । टीबी शाह राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले प्रभावशाली प्रदर्शन गर्दै कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित विरेन्द्रनगर क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा मधेशले ११६ रनको लक्ष्य १३.१ ओभरमै भेट्टाउँदै शानदार जित निकालेको हो।

मधेशका कप्तान परिमार्जन यादवको तूफानी अर्धशतक टोलीको जितको मूल आधार बन्यो। उनले २९ बलमा ४ चौका र ५ छक्कासहित ५४ रन बनाए। साथमा सुशान्त सिंहले २२ बलमा २३ रनको योगदान दिए भने सन्तु मण्डल १६ रनमा अविजित रहे।

कोशीका बलरहरूमध्ये कविराज खत्रीले २ विकेट लिए भने सुयोग भट्टराई र हार्दिक गोथियाले १–१ विकेट हात पारे।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४१.२ ओभरमै ११५ रनमा समेटिएको थियो। अलिस मण्डलले सबैभन्दा बढी ३० रन बनाए। कप्तान शिवान्स बजगाईं, सुगम बुढाथोकी र कविराज खत्रीले समान १३–१३ रनको योगदान दिए।

मधेशका बलर अभय यादवले घातक बलिङ गर्दै ४ विकेट लिए भने नुमैर अहमदले ३, रोहन यादवले २ र सलमान अलिले १ विकेट झारे।

यस जितसँगै मधेशले ५ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। कोशी पनि ६ अंकमै भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा छ। प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा चलिरहेको छ, जहाँ ७ प्रदेश सहभागी छन्। शीर्ष दुई टोलीबीच जेठ ३१ गते फाइनल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *