
श्रेणी : प्रदेश
बीरगन्ज,२२ साउन । मनसुनसँगै आउने बाढी, डुबान, भूक्षय लगायत विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका १२ स्थानमा अस्थायी बेश स्थापना गरेको छ।
उच्च जोखिममा रहेका क्षेत्रमा समयमै उद्धार र राहत कार्य सहज बनाउन सशस्त्र प्रहरी बल, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय (महोत्तरी) अन्तर्गतका टोली परिचालनमा छन्। बाढीबाट प्रभावित हुन सक्ने क्षेत्रमा उद्धार सामग्रीसहितको टोली तयारी अवस्थामा राखिएको छ।
यी हुन् मधेशमा स्थापना गरिएका १२ अस्थायी बेशहरू:
सप्तरी: भारदह, बर्साईन,सिराहा: मिल,धनुषा: दुवरकोट, महोत्तरी: रघुनाथपुर, बनौटा,सर्लाही: धरहरा,रौतहट: फतुवा ,बारा: तेलकुवा, कलैया,पर्सा: पोखरीया सशस्त्र प्रहरीका अनुसार सबै बेशहरूमा तत्काल उद्धार गर्न सक्ने खालका सुरक्षा सामग्री, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा छन्।
विपद् व्यवस्थापनमा समुदायकै सहभागिता बढाउन २२७ जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ। तालिममार्फत उद्धार प्रक्रिया, संचार संयन्त्र र समन्वय प्रणालीको अभ्यास गराइएको छ।
सिर्फ मधेश मात्र होइन, सशस्त्र प्रहरीले देशभरका ४१ स्थानमा मनसुन प्रतिकार्यका लागि अस्थायी बेशहरू स्थापना गरिसकेको छ। हालसम्म ९९० जनालाई औपचारिक स्वयंसेवक तालिम दिइएको छ भने १ लाख ६८ हजार ९५६ जनालाई विपद् सूचकका रूपमा परिचालन गरिएको जानकारी दिइएको छ।
सशस्त्र प्रहरीले विपद्मा परेका नागरिकहरूलाई तत्काल सहायता लिनका लागि टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
संघीय सुरक्षा संयन्त्रको अभिन्न अंगका रूपमा सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा शीघ्र प्रतिक्रिया, प्रभावकारी समन्वय र स्थानीय सहभागिता सुनिश्चित गर्दै मनसुन प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया