वीरगन्ज :

मधेशका तीन विद्यालयलाई भारत सरकारको २१ करोड सहयोग

श्रेणी : अन्तर्राष्ट्रिय

5 days
Pradeep Sah
2.8kViews
1887 Shares

बीरगन्ज,०६ साउन । नेपाल–भारत मित्रतालाई अझ प्रगाढ बनाउँदै भारत सरकारले मधेश प्रदेशका तीन विद्यालयका लागि झण्डै २१ करोड रुपैयाँ अनुदान दिने भएको छ। यो सहयोगसहित देशभरका पाँच सामुदायिक विकास परियोजनाका लागि भारतले करिब ३९ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्नेछ।

यस सम्बन्धमा सोमबार काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय निकायबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बारा : श्री बेंगा साह माविमा ५ करोड ५० लाख सहयोग
बारा, प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि ५ करोड ५० लाख रुपैयाँ अनुदान दिइनेछ। यसबाट तीनतले भवन, होस्टल, पुस्तकालय, शौचालय, खानेपानी, फर्निचर र कम्प्युटर लगायतका सामग्री व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष विनोद जयसवालले जानकारी दिए। करिब २४ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा ५० प्रतिशतभन्दा बढी छात्रा छन्।

पर्सा : पोखरियाको विद्यालयलाई १० करोड बढी सहयोग
पर्सा, पोखरिया नगरपालिका–६ स्थित विद्यालयमा १० करोड ४२ लाख रुपैयाँ अनुदान दिइनेछ। करिब ६५० विद्यार्थी अध्ययनरत यस विद्यालयमा तीनतले भवन, प्रशासनिक ब्लक, शौचालय, बाउन्ड्रीवाल, गेट, खानेपानी र विद्युत् सुविधासहितका पूर्वाधार निर्माण गरिनेछ।

धनुषा : जनशक्ति माविमा ५ करोड ८० लाख सहयोग
धनुषा, बटेश्वर गाउँपालिका–३ मा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयका लागि ५ करोड ८० लाख रुपैयाँ अनुदान दिइनेछ। करिब ३४० विद्यार्थी अध्ययनरत विद्यालयमा नयाँ भवन र आवश्यक पूर्वाधार निर्माण गरिने छ।

पाँच सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको कुल अनुदान रकम ३९ करोड रुपैयाँ बराबरको रहेको छ। भारत सरकारको यो सहयोगले नेपालको शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार सुदृढ गर्न तथा सिकाइको वातावरणमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

भारतीय दूतावासका अनुसार, नेपालका जनताको सामाजिक–आर्थिक उत्थानमा केन्द्रित यस सहयोगले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *