वीरगन्ज :

मकवानपुरमा १६६ कैदीबन्दी पक्राउ, फरार खोजी जारी

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.8kViews
1587 Shares

हेटौँडा,२६ भदाै । देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका १६६ जना कैदीबन्दी मकवानपुरबाट नियन्त्रणमा लिइएका छन्। उनीहरु जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा भागेर फरार भएका थिए।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये हालसम्म ७८ जना पक्राउ परेका छन् भने ३६२ अझै फरार छन्। उक्त कारागारमा एक नाबालकसहित १,०६६ जना कैदीबन्दी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ। बाल सुधार गृहमा कुल ९४ जना थिए।

काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये पनि मकवानपुरबाट केही पक्राउ परेका छन्। नख्खु कारागारबाट ७ जना, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट २ जना, कास्की कारागारबाट १ जना र तनहुँ कारागारबाट २ जना पक्राउ परेका छन्।

प्रहरी प्रवक्ता अर्यालका अनुसार नियन्त्रणमा लिइएका ३५ जनाको मूल कारागार पहिचान खुल्न बाँकी छ। उनीहरुको पहिचान र फरार रहेका अन्य कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *