
श्रेणी : अपराध
मकवानपुर,१३ जेठ । मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार साँझ ब्रेक फेल भएर अनियन्त्रित भएको बसको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
दुर्घटनामा स्थानीय ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र सिराहाको औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेमध्ये एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य तीन जनाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
बसको चालक २९ वर्षीय राजेश कार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार बसको ब्रेक फेल भएर अनियन्त्रित भएको र सोही क्रममा पैदल हिँडिरहेका सात जनालाई ठक्कर दिएको बताइएको छ।
मकवानपुरमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पछिल्लो समय बढ्दो छ। यसअघि पनि हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित सडकमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो। यस घटनामा आक्रोशित भिडले बसमा तोडफोड र आगजनीसमेत गरेका थिए।
प्रहरीले सवारी दुर्घटनामा संलग्न चालक र सवारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया