श्रेणी : प्रदेश
हेटौँडा,२८ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठुलो परिमाणमा चरेस, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन् ।
प्रहरीले गए राति भारतको हरियाणा जिल्लाका दुई व्यक्तिलाई चरेस र अफिमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन् । उनीहरूलाई मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डे क्षेत्रको त्रिभुवन राजपथ सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार उनीहरू सवार डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारबाट २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिम बरामद गरिएको हो ।
हेटौँडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा जिम्मा लगाएको थियो ।
यसै गरी, लागूऔषध गाँजा १०१ किलोसहित वीरगन्ज महानगरपालिका–२६, अठराह सुगौली निवासी २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरिएको छ । उनलाई हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट आज बिहान साढे ५ बजे पक्राउ गरिएको हो ।
डिएसपी अर्यालका अनुसार चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ नम्बरको भारतीय कारमा लुकाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ । यस घटनाले लागूऔषध तस्करीविरुद्धको प्रहरी कारबाहीलाई थप सशक्त बनाएको जनाइएको छ ।
प्रतिक्रिया