
श्रेणी : प्रदेश
मकवानपुर,२८ चैत । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजार नजिक धरान–चतरा सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार, सिन्धुलीबाट हेटौंडातर्फ गइरहेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बस गएराति करिब ९:३० बजे सडकको मोडमा अनियन्त्रित भई पल्टिएको हो। बसमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाबाट भ्रमण सकेर फर्किरहेका अगुवा कृषक र प्राविधिकहरू सवार थिए।
घटनामा बसका चालकसहित ३१ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले भरतपुर पठाइएको छ भने बाँकीको हेटौंडाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।प्रहरीका अनुसार, गम्भीर घाइतेहरूमा श्रीराम बज्यु, रिता कुमारी मगर, डा. सरोज ओझा र उनकी श्रीमती रेश्मा सुवेदी, कार्यपालिका सदस्य सुमित्रा लामा, सानी आले, अनिल स्याङबो लगायत छन्।
त्यस्तै अन्य घाइतेहरूमा दिलिप राज बुलन, यदुनाथ पुडासैनी, नारायण प्रसाद शर्मा, उज्वल राना मगर लगायत रहेका छन्। केहीलाई उपचारपछी डिस्चार्ज गरिएको छ।दुर्घटनापछि बसका चालक फरार भएका छन् भने सहचालक सतीश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ। हाल घाइतेहरूको उपचारमा केन्द्रित भई राहत तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।


प्रतिक्रिया