वीरगन्ज :

भोटको लागि झुठको खेती बन्द गर्न काँग्रेस उम्मेदवार चौधरीलाई पाण्डेको चेतावनी

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.9kViews
1680 Shares

वीरगंज (पर्सा), १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेले पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीमाथि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । पाण्डेले केही दिनअघि चौधरीले दिएको अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूलाई बौद्धिक र विद्वान दाबी गर्ने नेताबाट निरन्तर झुठा आश्वासन, मिथ्या आरोप र अशोभनीय भाषा प्रयोग भएको बताएका छन् । उनले यस्तो अभिव्यक्तिले व्यक्तिगत छविमात्र होइन, समग्र समाजमा नकारात्मक सन्देश जाने बताएका छन् ।

सामाजिक सञ्जाल पोस्टमा पाण्डेले उल्लेख गरेका छन् कि केही समयअघि चौधरी आफ्नै मानिकपुर–२ स्थित घरमा आएर चिया नास्ता गरेको विषय प्रत्यक्ष देखेपनि सार्वजनिक कार्यक्रममा ‘सुनेको छु’ भनेर प्रस्तुत गरिएको छ । यसले चौधरीको इमानदारीमाथि गम्भीर प्रश्न उठाउने पाण्डेको दाबी छ । २०४६ सालदेखि चौधरीलाई सकारात्मक सोच भएका व्यक्ति ठानेको बताउँदै पाण्डेले पछिल्ला पाँच वर्षयता उनी ‘झुटको राजनीति’ गर्दै आएको आफूले नजिकबाट नियालेको बताएका छन् ।

चौधरीका बोली, व्यवहार र गतिविधिसम्बन्धी प्रमाण सुरक्षित रहेको उल्लेख गर्दै पाण्डेले अझै सुधारको अवसर दिन तयार रहेको पनि बताएका छन् । पाण्डेले चौधरीमाथि विभिन्न व्यक्तिमाथि धम्की दिने, झुठा आरोप लगाउने, सार्वजनिक कार्यक्रममा अशोभनीय भाषा प्रयोग गर्ने तथा व्यक्तिगत रिस र राजनीतिक स्वार्थले प्रेरित व्यवहार गर्ने आरोप समेत लगाएका छन् । उनी यस्तो ‘दूषित र नकारात्मक राजनीति’ तत्काल छोड्न चौधरीलाई आग्रह गरेका छन् ।

यसअघि चौधरीले सार्वजनिक कार्यक्रममा पाण्डेलाई ‘राजनीतिक संस्कार नभएको नयाँ नेता’ भन्दै व्यङ्ग्य गरेका थिए । आफ्नो पुस्तकालयमा ४–५ हजार पुस्तक रहेको र नियमित अध्ययन गर्ने दाबी गर्दै उनले ज्ञान र बौद्धिकता बिना नेतृत्व सम्भव नभएको टिप्पणी गरेका थिए । त्यसको जवाफमा पाण्डेले भनेका छन् कि विद्वान हुन पुस्तक मात्र पढ्नु पर्याप्त छैन, ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्छ । आफू स्वावलम्बी जीवनशैलीमा विश्वास गर्ने र इमानदारीपूर्वक कमाएको पैसाले जीवनयापन गर्दै आएको उनले उल्लेख गरेका छन् ।

पोस्टको अन्त्यमा पाण्डेले सत्य असत्यको छिनोफानो गर्न गहवामाई मन्दिरमा सँगै कसम खानसमेत चौधरीलाई चुनौती दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *