वीरगन्ज :

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै

श्रेणी : प्रदेश

15 hours
Pradeep Sah
1.7kViews
1164 Shares

नेपालगञ्ज,०९ पुस । बाँकेको भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पतालबीच सेवा सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले हस्ताक्षर गरे। अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्न केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

मन्त्री पौडेलले सातै प्रदेशका संघीय अस्पतालहरूमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्दै जनताको लागि सहज र सुलभ बनाउने सरकारको योजना रहेको बताए। “भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि यहाँका बिरामीले अन्य जिल्लाहरू वा भारत जानुपर्ने बाध्यता अन्त्य हुनेछ,” उनले भने।

अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी एक महिनाभित्र सेवा सुरु गरिनेछ। “सेवा सञ्चालनका लागि कानुनी प्रक्रिया र जनशक्ति व्यवस्थापन गर्न केही समय लाग्ने भए पनि यो सेवा सर्वसुलभ बनाउने हाम्रो लक्ष्य हो,” उनले बताए।

भेरी अस्पतालका प्रमुख डा. सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्ने क्रम जारी रहेको र मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक सबै तयारी भइरहेको जानकारी दिए।

यो पहलले मिर्गौला प्रत्यारोपणको आवश्यकता भएका बिरामीलाई आफ्नै प्रदेशमा सहज उपचारको अवसर उपलब्ध गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *