श्रेणी : BANNER
वीरगंज (पर्सा), १२ फागुन ।पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बहुदरमाई नगरपालिका–१ बिश्रामपुरमा मंगलबार चुनावी माहोल तातेको छ। स्थानीय टोल–बस्तीमा नेकपा एमाले ले घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको हो।
एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेय पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै बिश्रामपुर पुगेका थिए। कार्यक्रममा स्थानीयवासीले उम्मेदवार पाण्डेयलाई आत्मीय स्वागत गर्दै खुलेर समर्थन जनाएका थिए।
घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेयले मतदातासँग सिधै संवाद गर्दै मुलुकको विकास र समृद्धिको स्पष्ट मार्गचित्र एमालेसँग मात्र रहेको दाबी गरे। उनले मतदातालाई ढुक्क भएर एमालेलाई मतदान गर्न आग्रह गरे।
जनसंवादका क्रममा पाण्डेयले आफू राजनीतिमा नयाँ भए पनि क्षेत्रका समस्यासँग नजिकबाट परिचित भइसकेको उल्लेख गरे। उनले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“म भाषणका लागि राजनीति गर्न आएको होइन, जनताको सेवाका लागि आएको हुँ,” पाण्डेयले भने, “अंग्रेजीमा चर्को भाषण गर्न सक्दिन होला, तर जनताको दुःख–सुख बुझेर समाधान खोज्न सक्छु।”
घरदैलो कार्यक्रमकै बीच पाण्डेयले जनताको बीचमै रहेर काम गर्ने वाचा गर्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरे। कार्यक्रममा एमालेका स्थानीय नेताकार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयवासीहरूका अनुसार पाण्डेयको घरदैलो अभियानले पर्सा–३ मा एमालेको जनसम्पर्क सुदृढ गर्नुका साथै मतदातामा भरोसा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया