श्रेणी : अन्तर्राष्ट्रिय
जनकपुर,१७ पुस । धनुषाको ढल्केवर-जनकपुर सडक खण्डमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवक गम्भीर घाइते भएका छन्। दुर्घटना मंगलबार साँझ लक्ष्मिनियाँ गाउँपालिका–७ स्थित बाबाको ढाबा होटेल नजिक भएको हो।
स ८ प ३०५७ नम्बरको मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१ निवासी १६ वर्षीय विवेक राय र पछाडि सवार सोही उमेरका आयुष पाठक गम्भीर घाइते भएका हुन्। मोटरसाइकललाई बीआर ०६ डीटी १९८८ नम्बरको भारतीय स्कारपियोले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।
घटनामा घाइते युवाहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइतेमध्ये विवेक रायको अवस्था अत्यन्त चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीले घटनामा संलग्न भारतीय स्कारपियो गाडीका चालक, बिहार मुजफ्फरपुर निवासी ३५ वर्षीय धर्मेन्द्र सहनीलाई नियन्त्रणमा लिएको छ। सहनीलाई इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षकले जानकारी दिए।
दुर्घटनापछि स्थानीयले भारतीय नम्बर प्लेटका गाडीहरूको लापरवाहीका कारण यस्ता घटना दोहोरिनुमा असन्तोष व्यक्त गरेका छन्। सुरक्षा र सडक नियम पालनाका विषयमा थप कडाइ गर्नुपर्ने मागसमेत उठाइएको छ।
प्रतिक्रिया