वीरगञ्ज, भदौ १५ । गृहमन्त्री रमेश लेखकले बारा र पर्सा जिल्लाको शान्ति–सुरक्षा मजबुत पार्दै सीमापार अपराध नियन्त्रणमा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
आइतबार वीरगञ्जमा आयोजित विशेष बैठकमा उनले दुवै जिल्लाका सुरक्षा प्रमुखसँग विस्तृत जानकारी लिए। भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँचको नाममा अनावश्यक दुःख नदिनुपर्ने भन्दै मन्त्री लेखकले मधेसका जिल्लामा संवेदनशील भएर काम गर्न सुरक्षा निकायलाई सचेत गराए।
जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकमा उनले धार्मिक सहिष्णुता, सीमा अपराध, लागूऔषध तस्करी तथा राजस्व चुहावटविरुद्ध *शून्य सहनशीलता* अपनाउन आग्रह गरे। साथै, हाल वीरगञ्ज क्षेत्रमा फैलिएको हैजा (कोलेरा) नियन्त्रणमा पनि सुरक्षा निकायले सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, भन्सार तथा राजस्व विभागका प्रमुखहरू सहभागी थिए।
प्रतिक्रिया