श्रेणी : अन्तर्राष्ट्रिय
बारा,१० माघ । भारतीय दूतावासले बाराका महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई अनुदानस्वरूप उपलब्ध गराएका ६ वटा हेमोडायलाइसिस मेसिन एक वर्षदेखि प्रयोगमा आउन सकेका छैनन्। जनशक्ति, बजेट र पूर्वाधार अभावका कारण यी मेसिनहरू नगरपालिकाको स्वास्थ्य चौकीमा थन्किएका छन्।
महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई तीन/तीन वटा डायलाइसिस मेसिन हस्तान्तरण गरिएको थियो। तर, यी नगरपालिकाहरूले मेसिन सञ्चालनका लागि आवश्यक पूर्वाधार र तालिमप्राप्त जनशक्ति व्यवस्था गर्न नसक्दा मिर्गौला पीडितहरू सेवा लिन काठमाडौं, बीरगन्ज, र भरतपुरसम्म जान बाध्य छन्।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले मेसिन जडान गर्न नयाँ भवन निर्माण भइरहेको र सञ्चालनका लागि अझै ६–७ महिना लाग्न सक्ने जानकारी दिए। त्यस्तै, सिम्रौनगढका मेयर किशोरीप्रसाद कलवारले भने माघ महिनाभित्र डायलाइसिस सेवा सञ्चालन गर्ने दाबी गरे पनि जनशक्ति तालिम पूरा गर्न कम्तीमा ४–५ महिना लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ।
स्वास्थ्य सेवा विभागका अनुसार, मेसिन प्रयोग नगरे फिर्ता लिने प्रक्रिया अघि बढ्न सक्छ।
प्रतिक्रिया