
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं, २० वैशाख । भारतले पाकिस्तानसँगको व्यापारमा कडाइ गर्दै अब त्यस मुलुकबाट हुने सबै प्रकारका आयातमा प्रतिबन्ध लगाएको छ। पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध लिएको यो कडा निर्णयलाई सुरक्षा रणनीतिसँग जोडिएको छ।
भारतको वाणिज्य मन्त्रालयले मे २ मा सार्वजनिक गरेको सूचनामा विदेश व्यापार नीति 2023 अन्तर्गत नयाँ प्रावधान थपिएको जनाएको छ। सो प्रावधानअनुसार पाकिस्तानबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष आयात पूर्णतः निषेध गरिएको छ।
विदेश व्यापार महानिर्देशनालयले जारी सूचनामा भनिएको छ, “राष्ट्रिय सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी यो निर्णय लिइएको हो।”
सरकारले पूर्ण प्रतिबन्ध लगाए पनि विशेष अवस्थामा मात्र भारत सरकारको अनुमति लिएर पाकिस्तानबाट आयात गर्न सकिने उल्लेख गरिएको छ। यसको अर्थ, कुनै पनि सामान बिना स्वीकृति भारत भित्र्याउन अब पाकिस्तानले सक्ने छैन।
भारतले यसअघि पनि राजनीतिक तनावका कारण पाकिस्तानमाथि विभिन्न चरणमा व्यापारिक प्रतिबन्ध लगाउँदै आएको छ। तर यसपटकको निर्णयलाई विश्लेषकहरूले निकै कठोर कदमका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया