![](https://birgunjreport.com/wp-content/uploads/2025/01/punch-ev.webp)
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,२२ पुस । भारतमा सन् २०२४ का लागि सबैभन्दा धेरै बिक्री हुने कारको सूचीमा टाटा पञ्च शीर्ष स्थानमा पुगेको छ। टाटाले २ लाख २ हजार ३० युनिट पञ्च बिक्री गर्दै भारतीय कार बजारमा आफ्नो दबदबा देखाएको छ।
मारुती सुजुकीलाई पहिलो पटक चुनौती दिँदै, टाटाले एसयूभी सेगमेन्टको बढ्दो लोकप्रियतालाई आफ्नो फाइदामा परिवर्तन गरेको छ।अब टाटाले ४० वर्षदेखि भारतमा सर्वाधिक बिक्री हुने मारुती सुजुकीलाई पछ्याएको छ । सर्वाधिक बिक्री हुने कारको दोस्रो स्थानमा पन्चपछि मारुतीकै वगान–आर रहेको छ ।
२०२४ मा धेरै बिक्री हुने पाँच कारमा ३ वटा एसयूभी सेगमेन्टका कार छन् । सुचीको तेस्रो र चौथो स्थानमा सुजुकी इर्टिगा र ब्रेजा सामेल हुँदा पाँचौ स्थानमा भने हुन्डाई क्रेटा परेको छ । गत वर्ष क्रेटा १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएको छ ।
पछिल्ला वर्षहरूमा भारतीय बजारमा एसयूभी सेगमेन्टका कारहरूको माग तीव्र रूपमा बढिरहेको छ। यसले मारुती सुजुकीलाई आफ्नो पारम्परिक हैसियत गुमाउन बाध्य पारेको छ।
एसयूभी कारहरू भारतका विभिन्न भौगोलिक क्षेत्र र सडक अवस्थाका लागि उपयुक्त मानिँदै आएकाले यस सेगमेन्टमा माग उच्च छ। टाटा पञ्चको सफलताले टाटाको एसयूभी डिजाइन र बजार रणनीतिलाई थप मजबुत बनाएको छ।
मारुती सुजुकीले भने आफ्ना नयाँ मोडेल र प्रविधि अपनाउँदै बजार हिस्सामा आफ्नो पकड कायम राख्ने योजना बनाएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया